राजकुमार तिमिल्सीना , चितवन ।
नारायणगढमा गजलको सुगन्ध छरिँदै चितवनको सांस्कृतिक चेतनामा गजलको मधुर आवाज मिसिने भएको छ। यही फाल्गुन १ र २ गते शनिबार, नारायणगढस्थित बालकुमारी कलेजको सभाहलमा गजलकारहरूको विशेष कार्यक्रम आयोजना हुने भएको छ । समाजका पीडा, प्रेमका अनुभूति, समयका प्रश्न र जीवनका चिरा–चिरामा लुकेका सत्यहरूलाई शब्दमा उतार्ने गजल मञ्च चितवनको आयोजनामा प्रणय दिवसका अवसरमा गजलकार सतिसाल, बालकुमारी घिमिरे, विधान पौडेल र रामलाल कुमालका प्रेमिल गजलहरू सुन्ने कार्यक्रम रहेको छ । कार्यक्रममा गजलकार बालकुमारी घिमिरेको गजलसङ्ग्रह ‘तलतल’ को विमोचनसमेत हुनेछ । गजलकारहरू एकै मञ्चमा उभिँदा, यो कार्यक्रम केवल साहित्यिक जमघट मात्र नभई संवेदनाको उत्सव बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा गजलमार्फत मन छुने प्रस्तुति, शब्दको चोट र भावनाको गहिराइ अनुभव गर्न सकिने आयोजकले जनाएको छ। गजल प्रेमी, साहित्यकर्मी, विद्यार्थी तथा सर्वसाधारणका लागि यो अवसर मन र मस्तिष्क दुवैलाई छुने क्षण बन्नेछ। चितवनको साहित्यिक यात्रामा अर्को एउटा सम्झनलायक पाइलाका रूपमा हेरिएको यस कार्यक्रममा सहभागिताका लागि आयोजकले सबै साहित्य अनुरागीहरूलाई उपस्थित हुन हार्दिक आग्रह गरिएको छ। गजल सुनौँ, अनुभूति बटुलौँ, शब्दसँग साक्षात्कार गरौँ। ![]()
![]()





