३० फागुन ,चितवन ,जनमुक्ति खबर – सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विश्वकर्मा (विक) माथि बलात्कारपछि हत्या गरिएको घटनाले देशभर आक्रोश फैलाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका सबै जना १८ वर्षभन्दा कम उमेरका नाबालक रहेका छन्। उनीहरू वीरेन्द्रनगर क्षेत्रकै बासिन्दा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसा फागुन २३ गते घरबाट बाहिर गएकी थिइन्। त्यसपछि उनी जनजागरण सामुदायिक वन क्षेत्रमा गम्भीर अवस्थामा भेटिएकी थिइन्। उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानबाट किशोरीमाथि बलात्कारपछि हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यस घटनापछि दोषीलाई कडा कारबाही र निष्पक्ष छानबिनको माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत भएको छ। काठमाडौंमा समेत नागरिकहरूले ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारासहित प्रदर्शन गरेका छन्। मानवअधिकारकर्मी तथा नागरिक समाजले घटनाको गम्भीर छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।





