– राजकुमार तिमिल्सीना
यो तस्बीर तिनै हाकिमको हो । जसका कारण सामान्य चोक पनि हाकिमचोक भयो ! यो कथा २०२६ सालतिरबाट सुरु हुने रहेछ । हालको एअरपोर्टभन्दा पूर्व एउटा निर्जनजस्तै चोकमा त्यसबेलाको एउटा सुन्दर र पक्कीघर ठडिएको रहेछ, जुन आजसम्म पनि गर्विलो इतिहास बोकेर त्यहीरूपमा उभिएको छ ! कुनै बेला त्यो घरको छतबाट भरतपुर हाइट पूरै देखिन्थ्यो, सबैतिर खाली र बोटबिरुवा देखिन्थ्यो । आज तेस्रो घर पनि देखिन्न, दोस्रोले छेक्छ । धादिङ् पुर्ख्यौली भएका गोपीनाथ ख़तिवड़ा २०१८ सालतिर चितवनको मालअड्डामा हाकिम भएर आउनुभएको रहेछ । पछि विभिन्न स्थानमा सरूवा भएपनि घरचाहिँ उहाँले चितवनमैं बनाउनुभयो । महेन्द्र राजमार्गको छेउमा रहेको त्यो चलनचल्तीको तर खास नाम र बस्ती नभएको ठाउँमा उहाँको घर उभिएपछि त्यो ठाउँले बिस्तारै नाम पायो, हाकिमको चोक ।
त्यतिबेला अहिलेजस्तै छ्यापछ्याप्ती अड्डा अर्थात् कार्यालय थिएनन् । मालअड्डा महत्त्वपूर्ण थियो र धेरै काम त्यहीँबाट हुन्थ्यो । त्यसको छुट्टै शान थियो । हाकिम हुने मान्छे पनि अपवाद बाहेक त्यस्तै अब्बल र प्रखर व्यक्तित्व भएकाहरू हुन्थे । अहिले मन्त्री पनि चिनिन्न तर त्यो बेला जिल्लाका हाकिम अर्थात् विभागप्रमुखलाई सबैले चिन्थे । चिन्थे भनेको नाम सुन्थे । पुरस्कार या इन्सेन्टिभका रूपमा जग्गा बिर्ता दिएर भए पनि कर्मचारी दुर्गममा खटाउने चलन त्यतिबेला थियो । एउटा कर्मचारी भएपछि धेरै कुरा उसैबाट हुने । नयाँ बस्ती बसाउन या शहर निर्माण गर्न अलि नाम चलेको र त्यहाँको इकोनोमीमा मद्दत गर्न सक्ने व्यक्तिलाई सरकारले जग्गा नै दिएर बस्न लगाएका किस्सा सुन्न पाइन्छ । आजका धेरै शहर राजाका पालामा यसै गरी बसाइएका थिए ।
पहाड़बाट तराईतिर बसाइँ सर्ने र सार्ने काम योजनाबद्ध ढङ्गले नै भएको रहेछ । आजको सन्दर्भमा त्यसका आफ्नै उज्याला र अँध्यारा पाटा होलान् तर त्यतिबेला राष्ट्रिय अखण्डता र खाद्यान्नको सन्तुलन मिलाउन पनि त्यसो गरिएको हुन सक्छ । तर गोपीनाथ बाले जग्गा किनेरै त्यहाँघर बनाउनुभएको रहेछ । जागीरपछि उहाँले लामो समय मिल पनि चलाउनुभयो । हाकिमचोक भन्ने नामचाहिँ खासमा बसका यात्री र खलासीहरूले राखेका रहेछन् । त्यहाँ खास बस्ती र चोकको नाम नभएकाले सजिलोका लागि कहाँ झर्ने भन्दा हाकिमको चोकमा झर्ने भन्दा भन्दै त्यो नाम प्रचलनमा आयो । आज यो चोक भरतपुरको केन्द्रजस्तै छ । कुनै बेला जम्मा तीन चार घर भएको र सालका बुटादेखि जङ्गली जनावरसम्मको घर भएको हाकिमचोक आज व्यस्त बजार भएको छ । मेरो घर हाकिम चोकबाट दुई किलोमिटर जति भित्र छ । तर कसैलाई घर कता हो भन्दा हाकिमचोक भन्छु । मलाई मेरो त्यति टाढाको घरसँग समेत जोड़िएर आउने हाकिमचोकबारे जान्ने ठूलो कुतकुती थियो ।
प्रजातन्त्र आएपछि केही स्थानीयले यसको नाम फेर्ने कोसिस पनि गरेका रहेछन् । पृथ्वीचोक भनेर बोर्ड पनि टाँगिएको रहेछ । तर केही नामहरू ती ठाउँ जन्मिँदै जोड़िएर आएका हुन्छन् । तिनलाई फेर्दा ठाउँको इतिहास र पहिचान नै फेरिन्छ । हामीलाई सबै एकैपल्ट, सजिलै र आजै भएको हो जस्तो लाग्छ । तर यहाँसम्म आइपुग्न हाम्रोअघिल्लो पुस्ताले पनि निकै योगदान गरेको हुन्छ । अब आउने पुस्ता पनि शून्यमा आउने होइन । हाकिमचोकका ‘हाकिम’ त अहिले हुनुहुन्न तर उहाँको परिवारले यसको बिरासत अझै धानेर राखेको रहेछ ! पछि त्यो घरसँगै जोड़िएर बनेको अर्को घर थियो, चितवनका पुराना एवं सम्मानित शिक्षक वेदप्रसाद अर्यालको । दुई घरबीच स्वाभाविक रूपमा मैत्री थियो । संयोगले त्यो घरमा पनि कुनै बेला तेल-मिल रहेछ । धेरैले मिलकै कारण पनि सम्झना राख्नुहुन्छ होला । हाल मिल नचले पनि उहाँका छोराहरूले पिताको स्मृतिमा त्यसलाई सुरक्षित राख्नुभएको रहेछ । हाकिमचोकबारे जान्ने इच्छाले ‘हाकिम’कै सुपुत्रसँग भेट जुरायो । विनयजी सरल र नामजस्तै नम्र हुनुहुँदो रहेछ । ती दुबै घरका परिवारसँग सँगै बसेर चिया पिउन पाएपछि म पक्का हाकिमचोकको बासिन्दा भएँ । हाकिमचोकबाटै यो सानो नोट पढ्ने कोही हुनुहुन्छ कि ?
-साभार नारायण गाउँलेजीकाे फेसबुक वालबाट ।
म आफुपनि त्यहीँ जन्मे हुर्केकाले आफू हुँदाकाे २०५० सालतिरकाे त्यहाँ चाैतारीकाे फाेटाे र हालकाे ६ लेनकाे सडक समावेश गरेको छु । अन्य सामग्री लेखकलाई न्याँय दिनेगरि जस्ताकोतेस्तै समावेश गरेको छु ।





