नेपाल सेरोफेरो

कालीगण्डकी करिडोर : गैँडाकोट–मालढुंगा सडकलाई बजेट अभाव

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको २९३  किलोमिटर हो, गैँडाकोट राम्दी–मालढुंगा खण्ड । यसमध्ये गैँडाकोट राम्दी– मालढुंगा सडक खण्ड २४० किलोमिटर र कालिगण्डकी लोकमार्ग (मिर्मि–सेतीवेणी –फलेवास–अर्मादी) ५३ किलोमिटर गरी जम्मा २९३ किलोमिटर छ । 

निर्माण थालेको १६ वर्षमा यो सडक खण्डको २९३ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ । यसमध्ये पुस मसान्तसम्म १९५  किलोमिटर सडक कालोपत्रे गरेको आयोजनाले जनाएको छ । यसैगरी ३० किलोमिटर ग्राभेल ७६ किलोमिटर सडक कच्ची छ । कालोपत्रे गरी ठेक्का व्यवस्थापन गर्न १७.१२ किलोमिटर सडक बाँकी रहेको आयोजनाले जनाएको छ । 

यो आयोजनामा निर्माण निर्माण गर्नुपर्ने ५९ वटा पुल हो । हालसम्म ३५  वटा पुल निर्माण सम्पन्न भएको छ । साथै ४२ वटा पुल ठेक्का व्यवस्थापन भएको, ७ वटा निर्माणाधीन र ठेक्का व्यवस्थापन हुन बाँकी १७ वटा पुल रहेको आयोजनाले जनाएको छ ।

कुल अनुमानित लागत २० अर्ब रहेको यो सडक खण्डमा चालु वर्ष २०८१ पुस मसान्तसम्म १ अर्ब १४ करोड खर्च भएको छ ।

आर्थिक वर्ष २०६५/६६ मा निर्माण थालिएको यो खण्ड आर्थिक वर्ष २०८०/८१सम्म निर्माण गरिसक्ने म्याद थियो । तर सो अवधिमा निर्माण सम्पन्न गर्न नसकेपछि २०८४/८५ सम्मका लागि म्याद थप गरिएको छ ।

बजेट अभावका कारण सो अवधिमा पनि निर्माण सकिनेमा शंका रहेको आयोजनाका इन्जिनियर अरुण खत्री बताउँछन् । 

सरकारले चालु वर्षमा न्यून बजेट विनियोजन गरेका कारण लक्ष्यअनुसार निर्माण सम्पन्न गर्न नसकेको उनको भनाइ छ । ‘हाम्रो समस्या भनेको अहिले बजेट हो । चालु वर्षमा विनियोजन बजेट सकिएर पुनः दायित्व सिर्जना भइसकेको छ,’ इन्जिनियर खत्रीले भने, ‘५५ करोड दायित्व सिर्जना भइसक्यो । कहाँबाट भुक्तानी गर्ने बजेट अभाव छ ।’

निर्माणको सुरुवाती चरणदेखि नै बजेट अभावको समस्या झेल्दै आएकाले अन्तिम म्यादसम्म निर्माण सम्पन्न हुन नसकिने देखिएको उनको तर्क छ । 

‘यो खण्डको सबैभन्दा ठुलो समस्या ठेक्का गर्नलाई एकै पटक स्रोत सहमति नभएको कारण हो । कतिपय निर्माणका लागि अहिलेसम्म ठेक्का लागेको छैन,’ खत्रीले भने, ‘यो खण्डमा सडकको अन्तिम ठेक्का बल्ल लगाउँदै छौँ । पुलको त बाँकी नै छ । सुरुदेखि नै खण्ड–खण्ड गरेर ठेक्का लगाएर काम भइरहेको छ ।’ 

एकपटक  ठेक्का लाउन नसक्नु पहिलो कारण यस्तै ठेक्का लागेको खण्ड निर्माणका लागि बजेट पर्याप्त नहुनुलगायत कारण समयमा निर्माण सम्पन्न गर्न नसकेको उनको तर्क छ । कोरोनाका कारण लम्बिएको साथै नदीजन्य पदार्थमा सर्वोच्चमा मुद्दा परेको, नवलपुरको चुरे क्षेत्रमा वनको समस्या र खानेपानी लगायतको समस्याका कारण निर्माणमा ढिलाइ भएको उनले बताए । 

बेनी–जोमसोमको ८४ प्रतिशत प्रगति

कालीगण्डकी करिडोरको अर्को खण्ड हो बेनी–जोमसोम–कोरोला । यस खण्डको कुल २०२ किलोमिटर रहेको छ । पर्वत म्याग्दी र मुस्ताङ जिल्लालाई हुँदै चीनको नाका कोरोलासम्म पुग्ने यो खण्ड ०६६/६७ निर्माण सुरु भएको थियो । यो आयोजना ०७९/८० मा निर्माण सम्पन्न हुनुपर्ने हो । तर बजेट अभाव लगायतका अन्य विविध समस्याका कारण उक्त अवधिमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । 

हाल यो आयोजना निर्माण गर्ने अन्तिम म्याद २०८२/८३ सम्म रहेको छ भने हालसम्म यो खण्ड ८४ प्रतिशत निर्माणका सम्पन्न भएको छ । कुल १० अर्ब लागत अनुमान गरिएको यो खण्ड २०८१ पुस मसान्तसम्ममा १ अर्ब ७८ करोड २५ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । 

यो खण्डमा हालसम्म ९३.५ किलोमिटर  सडक कालोपत्रे गरिएको छ । यस्तै १२० किलोमिटर ग्राभेल र कच्ची २७ किलोमिटर र ६ वटा पुल निर्माण भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत नेपालको उत्तर–दक्षिण जोड्ने त्रिदेशीय सडकको हो कालीगण्डकी करिडोर । नवलपुर जिल्लाको गैँडाकोटदेखि मुस्ताङ जिल्लाको कोरला नाकासम्म कालीगण्डकी नदीको किनाराबाट निर्माण भइरहेको यो आयोजनाको लम्बाइ ४९५ किलोमिटर छ । 

यसमध्ये बेनी–जोमसोम–कोरोला खण्ड कुल २०२ किलोमिटर र गैँडाकोट राम्दी–मालढुंगा २९३ किलोमिटर गरी दुई छुट्टाछुट्टै आयोजनामार्फत निर्माण गरिएको छ । यो सडकलाई देशको आर्थिक सामाजिक, साँस्कृतिक, पर्यटकीय एवम् धार्मिक महत्त्व बोकेको छ । साथै यो सडकले विशेष गरी दुई छिमेकी मित्र राष्ट्र भारत र चीन बाट हुने व्यापार र त्यसबाट देशलाई प्राप्त हुने व्यापार पारवहनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

सोही अनुसार यसको निर्माण व्यवस्थापनका लागि दुई कार्यालय कालीगण्डकी कारिडोर (गैँडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पा र कालीगण्डकी करिडोर (मालढुंगा–बेनी–जोमसोम– कोरला ) सडक योजना जोमसोम स्थापना गरी निर्माण कार्य भइरहेको छ । 

तर सरकारले यो आयोजनामा वार्षिक रूपमा आवश्यक बजेट विनियोजन गर्न नसक्दा अपेक्षित लक्ष्य प्राप्ति भएको देखिँदैन ।  

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु